काठमाडौं । कांग्रेसका सांसद टेकबहादुर गुरूङ, एमाले सांसद लक्ष्मी महतो कोइरी र एमाले सांसद टोप बहादुर रायमाझि गरी आम चुनाव भएको ६ महिनाभित्रै तीन जना सांसद निलम्बित भएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा टेकबहादुर गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनी निलम्बनमा परे, अर्का फरार सांसद लक्ष्मी महतो कोइरी पनि निलम्बनमा छन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।



यता अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा गएसँगै निलम्बित हुन पुगे ।
निलम्बनमा रहेको अवधिबार पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुन्छ । अभियोग पुष्टि नभएको खण्डमा थुना मुक्त भएमा स्थगित पारिश्रमिक, सेवा र सुविधा एकमुष्ट प्राप्त हुन्छ ।
