बुटवल । रुपन्देहीलाई‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ ।
आइतबार जिल्ला खोप समन्वय समिति रुपन्देहीले भैरहवामा आयोजना कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले सो घोषणा गरेका हुन् । राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९/८० मा सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति रुपन्देहीले जनाएको छ ।



पूर्ण खोप सुनिश्चितताका लागि १६ महिनादेखि ५९ महिनासम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ । सुरुमा ४ वटा रोगविरुद्धको खोपबाट सुरु भएको खोप अहिले नेपालमा १३ वटा रोगविरुद्धको खोप सञ्चालन भइरहेको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले विगतको समयमा महामारीको रूपमा आउने सरुवा रोगलाई खोपको माध्यमबाट केही छिटपुट घटनाबाहेक पूर्ण रूपमा अन्त्य गरिएको बताए । मन्त्री खनालले पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गर्न खट्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए ।
उनले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले सेवासुविधा दिन नसकेको कुरा उठ्नु स्वाभाविक भन्दै महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका लागि उनीहरु सेवानिवृत भएपछि सम्मान पत्र र रु ५० हजारका साथ सम्मान गर्ने लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको बताए ।
