Ujyaalo Live

भूकम्प गएकाे ७ वर्षसम्म पनि बनेन घर, कटेराेमै वास

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित धनारकी ५३ वर्षीय मिना सुनार बाँसको भाटाले बनाएको टहरामा वर्षौंदेखि गुजारा चलाउँदै आएकी छिन्।

 

 

बाँसले बारेको एक तले छाप्रोमा ढोकाको काम त्रिपालले गरेको छ। अभावै अभावको जीवन गुजार्दै आएकी उनले घरमा अरूले चोर्नैका लागि पनि केही नभएकाले ढोकैको खाँचो नभएको बताउँछिन्। त्यही ढोका हाल्ने काठ र ज्यामी खरिद गर्ने पैसा नभएका कारण पनि उनले चाहेर पनि छाप्रोमा ढोका हाल्न सकेकी छैनन्।

२०७२ सालको भूकम्पले उनको यही छाप्रो पनि खलबलाएको थियो। छिमेककै आफन्त पर्नेहरूले जसोतसो मर्मत गरिदिएर काम चलाउने बन्यो। भूकम्प पीडितहरूको घर खोज्दै ईन्जिनियरहरु उनकै आँगन हुँदै धेरै पटक नहिँडेका पनि कहाँ हुन र ? उनी कसैको चासोमा परिनन्, कारण उनी न त राजनीतिक रूपमा सक्रिय छिन न त उनको घरमा एक भोट भन्दा बढी नै छ।

तर पनि चुनावको बेलामा नेताहरूले इन्जिनियर समेत ल्याएर आफ्ना लागि घर बनाइदिने र भूकम्प पुनर्निर्माणको लाभग्राही बनाइदिने आश्वासन भने दिएका थिए। चुनाव आए गए, नेता पनि आए गए र उनका लागि आश्वासन पनि आए गए।

‘नेता आउन त कुन चुनावमा छोडेका छन् र ? इन्जिनियर ल्याएर यस्तो खालको घर बनाउँदा ठीक हुन्छ, हामी गरम्ला नि आमा भनेर गएका हुन्। पहिलाका चुनावमा आएका कहाँ पुगे, अहिलेको पनि हामी गरम्ला भनेर भोट मागेर हत्ते गरे, ढोगम्ला झैँ गरे,’ सुनार भन्छिन्, ‘चुनावमा त एउटा नेताका मान्छेले एउटा घर बनाउँछन् कि जस्तै गरे, अहिले न कोही फर्केर आउँछ, न मलाई कसैले गन्छ।’

भूकम्प नै नगएकाहरूले भूकम्पको किस्ता बुझेको आरोप लागेको फलेवास नगरपालिकामा भूकम्पपछिको पुनर्निर्माणमा मीना भने राज्यको दृष्टिमा भूकम्प पीडित नै बनिनन्। राजनीतिक पहुँचको भरमा कतिपय नक्कली पीडितहरूले रकम बुझ्दा साँच्चिकै पीडित बनेकी उनी त्यही हेरेर बस्ने निरीह प्राणी बनेकी छिन्।

उनी अहिले बस्दै आएको बाँसको छाप्रोमा पहिले खरको छानो थियो। फलेवास नगरपालिकाले खरको छानो विस्थापन गर्ने अभियान चलाएर उनको धुरीबाट पनि खर हटाइदियो। जस्ताले छाउनको लागि ५० हजार आउने भन्ने सुनेको भए पनि आफूले २० हजार रुपैयाँ पाएको र त्यही पैसाले छाना हालेको उनको भनाई छ।

 पैसा नहुँदा कर्मीले बीचैमा छाडे घर

बाँसको छाप्रोबाट एक कोठे सामान्य घरमा निदाउने सपना देखेकी मीनाको सपना पैसाकै कारण अलमलमा छ। जग राखेर खम्बा गाडिएको घर निर्माणको काम गत वैशाखबाट सुरु गरिएको थियो। गाउँकै कर्मीहरू बोलाएर निर्माणको काम थालेको भए पनि कामदारहरूलाई तिर्ने पैसा उनीसँग थिएन। उनीहरूले काम गरेको पैसा माग गर्दा तिर्ने उपाय नभएपछि कर्मीहरूले निर्माण सुरु गरेको केही दिनमा नै घर त्यत्तिकै छाडेर हिँडिदिए।

‘उहाँहरूलाई पनि केही दोष भएन, दोष त मेरै हो मसँग पैसै छैन। उहाँहरूले मागेको बेलामा दिन सकिन, उहाँहरू पनि कामै गरेर पेट पाल्ने हो। मैले काममा आइदिनु भन्दा भोलिबाट आम्ला दिदी भन्नुभयो तर अन्तै जानुभयो,’ सुनार भन्छिन्, ‘यतिबेला तल्तिर माथ्थेरका नातिहरूले यसो अलिअलि मिलाएर आमालाई छाप्राबाट सार्न सकिन्छ कि भनेर सघाएका छन्।’

आर्थिक सङ्कटको पीडा

ज्यालादारीमै काम गरेर पेट पाल्ने भएकाले काम गरेरै कमाउने अवस्था उनको छैन। जब श्रीमानले दोस्रो विवाह गरेर कान्छी श्रीमतीको साथमा बुटवलमा रहन थाले त्यही बेलादेखि मीनाको सङ्कट सुरु भयो। श्रीमान् बुटवलतिर बस्दै आएको र ३/४ महिनाको एक पटक ३/४ हजार रुपैयाँ पठाउने गरेको भए पनि त्यो पैसाले एक महिना पनि चल्न नसक्नुको पीडा उनमा छ।

त्यसबाहेक रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेका छोरी ज्वाइँले बेला बेलामा आर्थिक सहयोग गर्ने भएकाले जसोतसो दैनिक छाक टार्न सकेको सुनारले बताइन्। ‘श्रीमान् त बुटवलतिर हो बस्ने। ३/४ महिनामा ३/४ हजार रुपैयाँले मैले कसरी खर्च चलाउन सक्छु र ? छोरी ज्वाइँले नि बेला बेला हेर्नुभएको छ र चलेकी छु,’ भक्कानिएको आवाजमा गहभरी आँसु पार्दै उनले भनिन्, ‘मलाई साह्रै गाह्रो भएको कुरा ती नेतालाई बताइदिने को भेटिएला भनेर यस्तै मान्छे खोजेकी थिएँ। लौ न बाबु हजुरले त्यहाँ मेरो हालत भन्दिनु न। मर्नी कसरी मर्नी ? बाँच्नी कसरी बाँच्नी ? गाह्रो भयो मलाई।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?