Ujyaalo Live

अध्यात्म जीवनको सत्य थप सामग्री

काठमाडौं । जीवनको सत्य धेरैलाई थाहा छैन । सत्यलाई एकातिर राखेर मानिस दैनिक सांसारिक प्रतिष्पर्धामै कुदिरहेका हुन्छन् । जसले मानिसलाई स्वार्थीसमेत बनाएको छ । स्वार्थी पनि यतिसम्म बनाएको छ की उसले पाप धर्म केही देख्दैन खाली आफ्नो र आफ्नो परिवारको मात्र उन्नति खोजिरहन्छ । जुन सांसारिक मित्थ्या मात्र हो ।

जन्म पछि मृत्यु निश्चय हुन्छ भन्ने सबैलाई थाहा छ । तर मानिसले न त जीवन जीउन जानेको छ न त मृत्युसँग नै भय छ । उसलाई यो संसारमा प्रतिष्पर्धा नै गरेर अगाडी बढ्नु छ ।

तर जसले अध्यात्म बुझेको छ । उसले जीवनलाई सहज रुपमा लिएको छ । त्यसैले सबैले अध्यात्म के हो भनि बुझ्न जरुरी छ ।

सरसर्ती हेर्ने हो भने अध्यात्म जीवन यात्रालाई उत्कृष्ट बनाउने एउटा सरल मार्ग हो । कतिपय अवस्थामा धर्म र अध्यात्मलाई एकै ठाउमा राखेर हेर्ने र बुझ्ने गरिन्छ । तर मुलभूत रुपमा अध्यात्म र धर्म स्वभावले नै फरक फरक रहेको देखाउँछ ।

हुनत धर्म अध्यात्मको पहिलो खुड्किलो भएकाले सुरुवाती अवस्थामा एक अर्काको पर्यावाची बन्न पुगेको पक्कै हो । अध्यात्मिक हुनु भनेको धर्मकर्म गर्ने हो भन्ने सामान्य बुझाई छ । जबकी यो शब्दको विराट अर्थ छ र यो आफैँमा एक परमतत्व हो ।

अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो ।

आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो । यो अलग कुरा हो कि यस प्रयत्नले अहिलेसम्म कति सफलता प्राप्त भयो ।

अहिलेसम्म निर्मित स्थापनाहरू, धारणाहरू, विश्वास, कल्पना कुनै सीमासम्म यथार्थको परिधिलाई लुकाएर राखिएको हुन्छ । यो प्रश्न अनुत्तरित छ, यस दिशामा अनन्त प्रयत्नहरू अनेक उर्वर मस्तिष्कद्वारा गर्ने गरिएको छ । यसमा कुनै सन्देह छैन ।

वास्तविक ज्ञानको श्रोत यसरी टाढा हुँदै जाँदा मानिस भित्रै रहेको ऊर्जाको केन्द्र प्रकृतिक तथा दैविक शक्ति जसको अनुभव र महशुषसम्म पनि गर्न नसक्दा आज हरेक मानिसमा निराशा बढ्दै गएको छ । जसले मानिसलाई जीवनबाट विरक्तितर्फ धकेलिरहेको छ ।

मानवमा डिप्रेसन र आत्माहत्याका घट्ना बढ्दै गएका छन् । यसका लागि आत्म बोध हुन जरुरी हुन्छ । जसका लागि अध्यात्मको विकल्प छैन ।

मानिसमा शक्ति महाशक्तिका बारेमा अझैसम्म पनि केही आस्था र विश्वास पक्कै छ । त्यसैको कारण विपत्ति पर्दा स्वभावलै हे भगवान, हे प्रभु, हरे कृष्ण, राम–राम जस्ता शब्द स्वतः जप्न थाल्दछ ।

यसको अर्थ आजको दिनसम्म पनि हामीमाथि केही शक्तिहरू छन् भन्ने विश्वास भइरहनु हो । वास्तवमा विभिन्न दृश्य तथा अदृश्य भौतिक अथवा सुक्ष्म शक्तिहरूका ऊर्जाबाट हाम्रो अस्तित्व प्राण (श्वास) स्वतः चलिरहेको हुन्छ । जस्तै सूर्यको अंश ग्रहहरू हुन । त्यस मध्ये पृथ्वी पनि एक ग्रह हो । पृथ्वीको सानो अंश कण हामी मनुष्य हौं ।

जसरी आमाको गर्भमा रहँदा आमाबाट प्राप्त ऊर्जाले बालक जिवित हुन्छ । धर्तीमा जन्म लिइसकेपछि प्रकृतिले तयार गरिदिएको आमाको दूधबाट बाहिरी संसारमा पनि जिवित हुन सफल हुन्छ । त्यसरी नै सूर्यको शक्तिबाट पृथ्वी अर्थात प्रकृतिको ऊर्जाबाट हामी जिवित छौं । बरू खाना नखाएर केही दिनसम्म पनि जिवित रहन सक्छौं । तर, एक मिनेट प्रकृतिले श्वास बन्द गरिदिने हो भने जीवन लिला त्यही समाप्त हुन्छ ।

अध्यात्मको एड्भान्स कोर्षमा यस ज्ञानलाई गहिराइमा सुक्ष्म अनुभवका साथमा अध्यापन गराइन्छ । यदि सहि ठाउँमा तालिम लिन पुग्यौ भने । यस ज्ञानलाई हामीले लिएर हाम्रा सन्ततिलाई हस्तान्तरण गर्नका निम्ति अध्यात्म जरुरी छ ।

वेदको रचनाकाललाई (जो अनुमानित ५००० वर्ष पूर्वको मानिन्छ) ‘वैदिककाल’ भन्ने गरिन्छ । त्यतिबेला हाम्रो सभ्यता कृषि र पशुपालन युगमा थियो । यस समयका निवासीहरू कर्मठ, प्रकृ‍तिप्रेमी, सरल र यस जीवनलाई भरपूर जिउने लालसा युक्त थिए । उनीहरू प्राकृतिक शक्तिहरूको पहिचान गरेर उनीहरूकै उपासनामा लाग्थे । जस्तो मेघ, जल, अग्नि, वायु, सूर्य, उषा, सन्ध्या आदि र स्वयं यिनको या यिनीद्वारा सञ्चालन गर्नेवाला काल्पनिक आकारहरू (जस्तै, वरुण, इन्द्र, रुद्र) लाई देवको रूपमा मान्यता दिइएको थियो ।

फेरि यसलाई प्रसन्न राख्न र यसको आक्रोशबाट उत्पन्न अनिष्टसँग बाँच्न,  फसल एवं आफूले पालेका जीवजन्तु आदिको सुरक्षा र ती देवबाट उत्पन्न अनिष्टबाट आफ्नो जीवन, अफ्नो फसल, आफ्नो पशुहरूको सुरक्षाको निमित्त अनुष्ठान गर्न थाले । यो अनुष्ठान फेरि आफ्नो कामना–पूर्ति र शत्रुमाथिको विजय आदिको लागि विकसित भयो ।

अज्ञात परतत्वको खोजी, परमात्माको खोजी, परमात्माको अस्तित्व, उसको स्वरूप, गुण, स्वभाव, कार्यपद्धति, जीवात्माको कल्पना, परमात्मासँग उसको सम्बन्ध, यस भौतिक संसारको रचनामा उसको भूमिका, जन्मसँग पूर्व र त्यसपछिको स्थितिका बारेमा गरिने जिज्ञासा, जीवन–मरणको चक्र र पुनर्जन्मको अवधारणा इत्यादि प्रश्नका बारेमा चिन्तन र चर्चाहरू गर्ने गरिएको छ ।

यसको आधारमा आ–आफ्नो अवधारणाबारे जानकारी दिइएको छ । यसैको आधारमा पुराणहरू एवं अन्य शास्त्रमा व्याख्‍याहरू, कथाहरू, सूत्र, सिद्धान्त समेत लेखिए ।

अहिलेको पुस्ता हरेक कुराको वैज्ञानिक अर्थ खोज्छन् । उनीहरुले जबसम्म कुनैपनि कुरामा वैज्ञानिक तथ्य भेट्दैनन्, तब उनीहरुले त्यसलाई ढोंग, आडम्बर, अन्धविश्वास भनेर अस्विकार गर्छन् ।

अध्यात्मबारेको बुझाई र भनाइले उनीहररूमा यस्तै भ्रम पैदा गरिदिएको छ । अध्यात्म भन्नसाथ धर्मसँग जोडेर व्याख्या गरिन्छ । त्यसैले आफूलाई पढेका, शिक्षित भन्नेहरू ‘म त्यति अध्यात्मिक होइन’ भन्नमा गर्व गर्छन् । जबकी यो शब्दको विराट अर्थ छ र यो आफैँमा एक विज्ञान हो ।

अध्यात्म परलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयमको अध्ययन हो । प्रत्येक जीवनको एक(एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ । यसबाहेक जे छ, त्यो अध्यात्म हो । अध्यात्मबारे यस्तो लेखिएको छ, ‘अध्यात्म फगत ईश्वरीय चर्चा होइन । यो स्वभाव जान्ने केमेस्ट्री हो । अध्यात्म मानव मनको तहको अजब(गजब रासायनिक विश्लेषण हो ।’

अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै आध्यात्मिक मार्ग हो ।

म को हुँ ? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ । शरीर त म होइन । हात, खुट्टा, आाखा, टाउको, मुटु, मिर्गौला, फोक्सो पनि ‘म’होइन । म को हो त ? यही खोजले अध्यात्मको मार्गमा डोहोर्याउछ ।

स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उसलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।

सामान्य रुपमा भन्ने हो भने अध्यात्म भनेको आफुभित्रको चेतन तत्वलाई अनुभूत गर्नु हो । चेतन तत्व परमात्मासंग  जोडिएको हुन्छ । आत्मानै परमात्माको अंश भएकोले यसको ज्ञान र खोजको मार्ग अध्यामिक मार्ग हो ।

आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको लगायतको आत्ममन्थन र चेतनाको माध्यमबाट ईश्वर र सत्यको साक्षात्कार हुनु अध्यात्म जीवनको परम लक्ष्य हो ।
थप सामग्री : हिमालय टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?