Ujyaalo Live

अर्थमन्त्रीमाथिको छानबिन : समितिलाई कागजात दिन मन्त्रालयकाे अटेरी

काठमाडौं निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले कागजात दिन आनाकानी गरेको छ।

बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा समितिले आवश्यक कागजात आज (बिहीबार) दिउँसो २ बजेसम्म बुझाइसक्न पत्र पठाएको थियो। तर मन्त्रालयले आज बेलुकीसम्म पनि कागजात उपलब्ध नगराएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्।

छानबिन समितिले बजेटसम्बन्धी सम्पूर्ण कागजातसहित सिसिटिभी फुटेजको भिडिओ उपलब्ध गराउन मन्त्रालयलाई भनेको थियो। छानबिनका लागि आवश्यक कागजपत्र आइनपुगेपछि आज दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले छानबिन गर्न बाँकी ७ दिनको कार्यतालिका बनाएर पारित गरेको छ।

जसअनुसार भोलि (शुक्रबार) बिहान १० बजे, दिउँसो १२ बजे र बेलुकी ५ बजे गरी तीन चरणमा बैठक बस्नेछ। भोलि बिहान बैठकअघिसम्म मन्त्रालयले कागजात उपलब्ध गराउन सक्ने उनले बताएका छन्।

सो घटनाबारे छानबिन गर्न गठित समितिले १० दिनको कार्यादेश पाएकोमा ३ दिन बितिसकेको छ। हिजो कार्यविधिअनुसार ११ सदस्यीय समितिका सदस्य मन्त्रालय पुगेर स्थलगत निरीक्षण गरेका थिए। त्यस क्रममा त्यहाँ जडान गरिएको सिसिटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको थियो।

निवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति सामेल गराएर करको दर हेरफेर गरेको भन्दै चौतर्फी विरोध भएपछि संसदीय छानबिन समिति गठन गरिएको थियो। शर्माले सो समितिलाई सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिनमा सघाउने भन्दै राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?