Ujyaalo Live

के कार्य सम्पादन मूल्याङ्कन बापत नम्बर दिने हाम्रो व्यवस्था ठिक छ त ?

निजामती सेवामा बढुवा हुने विभिन्न तरिका मध्येको एउटा हो कार्य सम्पादन र मूल्याङ्कन वापतको नम्बर । कार्य सम्पादन र मूल्याङ्कन भनेको आफूलाई तोकिएको कार्य कति समयमा कसरी सम्पादन गरियो, सम्पादनको स्तर मापन गर्ने पद्धति नै कार्य सम्पादन मूल्याङ्कन हो । कर्मचारीहरूको व्यक्तिगत आचरण, व्यवहार,आदीको लेखाजोखा गर्ने विधि नै कार्य सम्पादन मूल्याङ्कन हो । हाम्रो देशमा स्तर निर्धारण विधिको प्रयोग गरेर कार्य सम्पादन मूल्याङ्कन गर्ने गरिन्छ जुन धेरै क्षेत्रमा अभ्यासमा आएको विधि हो । जसमा न्यून, राम्रो, उत्तम र अति उत्तम स्तरमा विभाजन गरेर मापन गर्ने गरिन्छ । कार्य सम्पादन मूल्याङ्कनमा कामको परिणाम, कामको लागत, काम गर्न लागेको समय, र कामको गुणस्तर कसरी र कस्तो सम्पादन भयो भनेर जाँच्ने गरिन्छ ।

के वास्तवमा कार्य सम्पादन मूल्याङ्कन मापन गर्दा व्यक्तिको आचरण, कार्य कुशलता लगायतका सदाचार गुणस्तरीय आदी हेरिन्छ त ? अनि कार्य सम्पादन मूल्याङ्कनको नम्बर पाउनेसँग मात्रै हामीले आचरण र व्यवहार सकारात्मक बनाउँछौ कि सेवाग्राहीहरूसँग पनि । अनि कासमू वापतको नम्बर पाउनेले सुपरिवेक्षक र पुनरावलोकनकर्ताको गोडा मोल्नु पर्ने हो कि ? उहाँहरूको दुनो सोज्यादिनु पर्ने हो कि ? आफूलाई तोकिएको काम नियमानुसार गरेर नम्बर पाइने हो ? त्यसको कहीँ कतै व्यवहारिक अभ्यास भए जस्तो पाइँदैन । हाम्रो कार्य सम्पादनको मूल्याङ्कन सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मात्र मूल्याङ्कनले हामी अब्बल ठानिन्छौ त ? यी र यस्तै अनुत्तरित प्रश्नहरूले हाम्रो कार्य कत्तिको सन्तोषजनक छ त भन्ने विषय वस्तु खोतल्नु अपरिहार्य छ । कार्य सम्पादन मूल्याङ्कन वापतको अङ्क पाउने र दिनेले हाम्रो निजामती सेवामा कस्ता कस्ता आनी बानी र व्यवहार देखाँउछन भन्ने केही प्रसङ्ग र उदाहरणहरू यहाँ प्रस्तुत गर्न चाहन्छु ।

नम्बर एक- एउटा कार्यालयमा कार्यालयका दोस्रो बरिएताका एक जना कर्मचारी हुनुहुन्थ्यो । उहाँको कार्य गर्ने तरिका, व्यवहार र नेतृत्व राम्रै थियो । उहाँको का.स.मू.को अङ्क र भौगोलिक अङ्क गणना हुने समय रहेछ । उहाँलाई सुपरिवेक्षकले त्यत्ति साह्रो मन पराउनु हुने थिएन । सुपरिवेक्षकको व्यवहार, कार्य शैली सबै खत्तमै थियो । उहाँ लगायत सबैलाई सधैँ हेप्ने, उहाँको कुराको ख्याल नगर्ने कार्यालयको सेवा सुविधा, साधन र श्रोतमा मोह बढी भई दोस्रो कर्मचारीलाई असर पर्ने गरी व्यवहार गर्नु हुन्थ्यो । अरू सबै निम्न स्तरका कर्मचारी, उहाँ  भने हुनुहुन्थ्यो सुपरिवेक्षकसँग प्रतिवाद गर्ने र प्रतिवाद गर्ने जिम्मेवारी पनि भएको । अनि हामीले उहाँलाई भन्ने गर्थ्यौ, सर हजुरले किन यसको प्रतिवाद गर्नुहुन्न यसरी त कार्यालय खत्तम होला नि भन्दा उहाँको उत्तर आउँथ्यो, म बोल्न मिल्दैन म कासमूको लागि आएको हुँ, म बोले भने त मेरो अङ्क काटिन्छ र म बढुवा हुन सक्दैन भनेर हाम्रा सामु निरीह साबित हुनुहुन्थ्यो । त्यही नम्बरको लागि जे भने पनि सहनुहुन्थ्यो,  कुनै प्रतिवाद गर्नु हुँदैनथ्यो ।

नम्बर दुई– कार्यालयमा धेरै करार तथा अस्थायी कर्मचारी र स्थायी थोरै कार्यरत थियौ । कार्यालयमा कार्यरत ती अस्थायी तथा करार कर्मचारीहरूको स्वीकृत दरबन्दी थिएन । नयाँ आ.व. देखि ती कर्मचारीहरूको म्याद थप नगर्ने भन्ने कुरा चल्यो । कुरा चल्दा केही अस्थायी र केही स्थायी कर्मचारी र कार्यालय प्रमुखको सल्लाहमा ती कर्मचारीहरूलाई सेवाबाट हटाउने  पत्र निर्माण गरी केही स्थायी कर्मचारीहरू मार्फत गोप्य रूपमा बुझाउने योजना बन्यो जुन नियमानुसार नै थियो । कार्यालय प्रमुख बिदामा बस्नु भयो, पत्र दिने कर्मचारीले पत्र दिन थाले त्यहाँ रडाको मच्चिन थाल्यो, खाइपाइ आएको जागिर जाँदा नमच्चियोस् पनि कसरी, अब ती नेतृत्व गरेका कर्मचारीलाई आपत् पर्‍यो र उनलाई र्याख र्याख पार्दा उहाँले भन्नु हुन्थ्यो मैले यो मेरो कासमु नम्बरको लागि उहाँलाई सहयोग गरी तपाईँहरूलाई गोप्य राखेको हुँ, मेरो बढुवाको समय आएको छ, त्यसैले म यस विषयमा केही बोल्न नमिलेको हो भनेर सबैलाई उत्तर दिनु भयो । म बोलेको भए र समर्थन नगरेको भए मेरो भविष्य बिग्रिन्थ्यो भनेर सबैको सामु प्रस्ट पार्नु भो ।

नम्बर तीन- एक जना पुनरावलोकन कर्तासँग काम गर्ने अवसर जुट्यो । उहाँ कार्यालयको सेवा, सुविधा, साधन श्रोत सकेसम्म आफैले उपभोग र सदुपयोग गर्नु पर्छ नभए आफ्ना परिवार र आफन्तले त गर्नै पर्छ भन्ने उद्देश्य उहाँको थियो । कार्यालय सरकारको होइन उहाँको आफ्नै निजी हो, अन्य कर्मचारीहरू उहाँका निजी नोकर हुन भन्ने सोच र व्यवहार थियो । कामकाजको सिलसिलामा पनि उहाँका कुरा कुनै पनि कोणबाट ठिक होइन भन्न मिल्दैनथ्यो र उहाँले भनेकै सबै थोक ठिक हो भन्नु पर्थ्यो । जे होस उहाँले भनेको मिल्ने नमिल्ने सबै काम गरी दिनु पर्थ्यो, यस्तो त हैन, यस्तो हो भन्दा उहाँबाट उहाँले कासमू रेटेका कुरा सविस्तार गर्नुहुन्थ्यो ।

एक पटक उहाँसँगै सुपरिवेक्षक र एक स्थानीय तहका जनप्रतिनिधि कुनै कामको सिलसिलामा सहभागी हुँदै गर्दा, जनप्रतिनिधि ज्यूले कर्मचारीहरूको असहयोगले गर्दा आफूले काम गर्न नसकेको बताउँदा उहाँले भन्नु भयो कर्मचारीहरूलाई ठेगान लगाउन नसकिने भो । कहिले के गरेर अड्काउँछन् कहिले के गरेर भन्दै गर्दा हामीसँगै रहनु भएका पुनरावलोकनकर्ताले भन्नु भो तपाईँहरूले का स मु दिन मिल्दैन र ? त्यस्तालाई त कासमू दिँदा रेटेर ठेगान लगाउनु पर्छ,  मैले त गर्ने त्यही हो भन्दै पटक पटक दोहोर्‍याउनु भयो । त्यो उहाँलाई सिकाउने र हामीलाई तर्साउने जस्तो लाग्यो । उहाँसँग त कति पटक उहाँको सुविधाको लागि नीति नियमको लागि, कार्यालय तथा सरकारी सम्पत्तिको संरक्षणको लागि सवाल जवाफ त भयो, के उहाँले भने जस्तै नमिल्ने कामहरू पनि गरेर अङ्क पाउनु हाम्रो नैतिकता, सदाचार र आचरण भित्र पर्थे कि पर्दैनथे भन्ने नै हाम्रो सवाल हो ।

नम्बर चार- सुपरिवेक्षक र पुनरावलोकनकर्ता भन्दा फरक नम्बर पाउनेले पनि छेपारे व्यवहार गरेको प्रसङ्ग छ । कार्यालयको काम काज भन्दा राजनीति लगायत अन्य कार्य गर्ने । हाकिम साव र अन्य ज्येष्ठ कर्मचारीहरूलाई अन्य समयमा गणना नगर्ने । उहाँहरूको कुनै क्षमता छैन, सबै मैले जानेको छु, बुझेको छु भन्ने, केही आफूलाई असर पर्ने भो भने नेता तथा उच्च पदस्थ कर्मचारीहरूको फोन घुमाउन लगाउने, काम नगरे पनि जस आफूले लिनु पर्छ भन्ने सोच थियो उहाँको । वर्ष भरि धेरै जसो प्रमुख र अन्य कर्मचारीहरूकै नकारात्मक टीकाटिप्पणी नै गरेर बित्थ्यो । जब आर्थिक वर्षको अन्त सुरु हुन्थ्यो त्यस पछि कार्यालयमा समयै आउने, धेरै जसो कार्यालय प्रमुखको कक्षमा बस्ने, कोसेली ल्याउने, पुर्‍याउने अन्य कर्मचारीहरूको टीकाटिप्पणी गर्ने, प्रमुखलाई आफ्नो कब्जामा कसरी पार्न सकिन्छ त्यसै गर्ने गर्नुहुन्थ्यो र राम्रो अङ्क पाएको शुभसमचार हामीलाई सुनाई फेरी आफ्नै लयमै फर्किनुहुन्थ्यो ।

यस्ता घटना र प्रसङ्गहरूसँग हामीहरू सबै नै परिचित र अभ्यस्तै छौ । अब कुरा गरौँ के हाम्रो कार्यसम्पादन मूल्याङ्कन वापतको नम्बर दिने र पाउने पद्धति ठिक छ त ? बेठीक त भन्न मिलेन फेरी यही पढेर पनि रेटिन सक्छ, ठिक पनि कसरी भन्ने जब नम्बर पाउन र दिन नीति, नियम, ऐन, कानुन भन्दा व्यक्तिगत चाकडी, चाप्लुसी, जागिरलाई नम्बरको धरौटीमा राखेर नमिल्ने काम पनि नम्बरको लागि गर्नु नैतिकता र सदाचार भित्र पर्छ कि पर्दैन ? नम्बर पाउन चाकडी गर्नु पर्ने, दिन पनि बाध्यता पार्ने दुवै खालेलाई परिस्थितिलाई व्यवस्थापन गर्दै यसलाई वैज्ञानिक र क्रस नम्बरिङ्गको व्यवस्था हुनु पर्छ । जहाँ पाउने र दिनेले दुवैको समान मूल्याङ्कन गर्न सकुन् ।

कासमूको नम्बरलाई दिँदा बक्सिस दिए जस्तो, घरकै अंश काटेर दिए जस्तो, पाउन हरेक तिकडम अपनाउनु पर्ने, काम गर्नेले भन्दा नगर्नेले नम्बर पाउने, पहुँच र चिनाजानीको हिसाबले नम्बर पाउने र दिने, आदीले के निजामती सेवा सुधारिएला त ? यो व्यवस्था एउटा आमूक व्यक्तिको जागिरे जीवनसँग भन्दा समग्र निजामती सेवासँग जोडिएको विषय हो । यसलाई सुधार गर्ने मात्रै हो भने पनि अधिक हाम्रो निजामती सेवा सुधारिन्छ, भ्रष्ट्राचार अनियमिततामा न्यूनीकरण हुन्छ । वैज्ञानिक युगमा पनि दासताको अन्त हुन्छ । नम्बर दिनेले पनि नम्बर पाउनेहरूसँगबाट मूल्याङ्कन गरिने व्यवस्था हुनु पर्छ, पाउने र दिने दुवैको मूल्याङ्कन सेवाग्राहीहरूबाट समेत हुने व्यवस्था हुनु पर्छ होइन भने कासमु वापतको नम्बर पाउन र प्राप्त गर्न जे पनि गर्न पर्ने अवस्था विद्यमान छ ।

कार्य सम्पादन मूल्याङ्कनको नम्बर काम गरे पाउने नम्बर हो, यसमा कर्मचारीले आफ्नै आचरण, व्यवहार, शैली, लगनशील, लगायत परिणाममुखी कामको लागि पाउने नम्बर हो । यो कसैको बक्सिस होइन, नम्बर पाउन अङ्क प्रदान गर्नेको गोडा मोल्नु पर्ने, कृत्रिम व्यवहार प्रस्तुत गर्नु पर्ने, धम्क्याउनु पर्ने, चाकडी गर्नु पर्ने, नराम्रो व्यवहार पैताला मुनी दबाउनु पर्ने व्यवस्थाको अन्त्य गरिनु पर्छ । यो विशुद्ध कानुनले तोकेका काम गरेर प्राप्त गर्ने नम्बर हो भन्नाले काम मात्रै गर्ने आचरण र व्यवहार नसुधार्ने भन्ने होइन, तर नम्बर दिनेले दबाब र प्रलोभनमा पारेर नम्बर दिने व्यवस्था जस्तो भएको छ, सुधार्नु पर्छ र सुधारिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?