काठमाण्डौ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौदेखि सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएको छ ।
समितिले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर नेपाल सरकार, राजनीतिक दल, प्रशासनिक तथा न्यायिक निकाय, काठमाण्डौ महानगरपालिकासमेतलाई फोहोर नफाल्न अन्तिम पटक अनुरोध गरेको जनाएको छ । बन्चरेडाँडा सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले मानव बस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप लगाउँदै अब सधैँका लागि फोहोर फाल्ने काम रोक्ने चेतावनी दिए ।
सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर कार्यान्वयन नगर्ने नियत बुझिएको भन्दै उनले उपत्यकाको फोहोरमैला सिसडोल, बञ्चरेडाँडा ल्यान्डफिल साइट लैजान सधैँका लागि बन्द गर्ने गरी बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।
ढुङ्गानाले आजसम्म बन्चरेडाँडामा फोहोर फालेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने काम मात्रै भएको भन्दै अब कसैको स्वार्थ पूरा गर्नका लागि बञ्चरेडाँडा र सिसडोलवासीले स्वास्थ्य दाउमा नराख्ने बताए ।
यस्तै नुवाकोटको ककनी वडा नम्बर २ का समाजसेवी राजुप्रसाद न्यौपानेले बाटो, शिक्षा, स्वास्थ्यमा विकास हुन्छ भनेर सिसडोलका स्थानीयले फोहोरमैला विसर्जनमा सहमति जनाएको भए पनि स्थानीय नागरिकको सपनामाथि सरकारले घात गरेको आरोप लगाए ।