Ujyaalo Live

गल्ती दोहोर्‍याउने छुट कसैलाई छैन : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय चुनावमा आफूलाई हराएपछि पछुताउनुपरेको कार्यकर्तालाई स्मरण गराएका छन् ।

उनले आज (बिहीवार) दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो चुनावमा त्यो प्रवृत्ति दोहोर्‍याउनु बेठिक हुने उनले बताए ।

अध्यक्ष ओलीले सङ्घीय र प्रदेशको चुनावलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको बताए । उनले ठट्टा गर्दै भने, ‘२०६४ सालको चुनावमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?’ तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नुपरेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे ।

उनले पालिका चुनावमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरेका थिए । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नुपर्ने र दोहोर्‍याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए।

आजै अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?