spot_img
spot_img

हातमा सर्टिफिकेट बोकेर मात्रै के काम?

सधैं उज्यालो देखिने मुहारभित्र पनि अनगिन्ती नसुल्झेका हिसाब-किताब छन्।  जुन जीवनमा खात लागेर राखिएका छन्।

आँखैले देखेका कुराहरू त आजभोलि सत्य हुँदैनन्। कसैले नदेखेको तर मनभित्र गुम्सिएको मेरो मनको कुरा कसले बुझिदियोस् खै?

Workplace Workplace
Workplace

आजभोलि मान्छेहरू फेसबुक, इन्टाग्राम र टिकटक हेरेकै भरमा अरूको जीवनसँग तुलना गरिदिन्छन्। हुन त एक सामान्य गाउँमा जन्मिएकी छोरी हुँ म। मैले सानैमा जिवनमा दुःख भनेको के हो र संघर्षसँग कसरी जुध्ने भनेर सिकिसकेकी छु। त्यसैले त अहिले पनि पीर व्यथालाई ओठभित्रै लुकाई आँखाको डिलमा भएका आँशुलाई पनि मुस्कानले पखाल्न जानेकी छु।

Workplace

बाबा सानैमा बित्नुभयो। त्यसपछि बुबाको माया केहो त्यो थाहा पाएकी छैन। बुबाको हात समाएर स्कुल जान नपाए आमाले दुवैको माया दिनुभयो। बुबा नहुँदा छिमेकीले हेला गरी भनेका शब्द र उनीहरूले बुबा बितेपछि आमालाई गरेका व्यवहार र टुहुरी भनी बोलाएको त सहने बानी छ। त्यसैले आजभोलि जसले जे भनी बोलाए पनि फरक पर्दैन।

तपाईको परिवारको कुनै पनि कमजोरी कसैलाई थाहा नदिनु। यदि कुनै मान्छेले थाहा पायो भने त्यो मान्छेले हरेक तरिकाबाट फाइदा उठाउन खोज्छ।

मान्छे कस्तो हुन्छन् भन्ने कुरा मैले बाबा बितेपछि मात्र थाहा पाएँ। पहाडको एउटा सुन्दर गाउँमा जन्मिएकी हुँ। तर मैले अभावै अभावमा बालापन बिताएकी छु। एकजोर नयाँ कपडा लागाउँन र दुई छाक मिठो खान पनि दसैं नै आउनुपर्थ्यो।

सानोमा मन परेको कुरा भएपछि कमाएर आफैं किन्छु भन्ने सपना बोक्न सिकेकी थिएँ। तर पनि जिन्दगीसँग केही गुनासो छैन। साँच्ची भन्ने हो भने त्यहीँ बालापनमा फर्कन मन छ। आमालाई घुर्क्याएर मिठोमिठो खानेकुरा पकाउन लगाई खान, बालापनका साथीसँग काली झारलाई बाँधेर चुंगी बनाई खेल्न, फाटेको मोजाको बल खेल्न मन छ। ती कुराहरू झलझली याद पनि आउँछ। अहिले पहिले जस्तो निस्वार्थ माया गर्ने साथीभाइ कहाँ पाइन्छ र!

आमाले आजभोलि सधैं एउटै कुरा भन्नहुन्छ, ‘छोरी यो कली युग हो। यहाँ मान्छेले मायाभन्दा स्वार्थ हेर्छन्। आफ्नो काम सकिएपछि चिन्न पनि छोड्छन्। याद राखेस् है!’

हुन त साथीभाइले भन्दा आफ्नै आफन्त भनाउँदाले तपाईंमा कमिकमजोरी देख्छ र फाइदा लिन खोज्छ। यहाँ मान्छे चिन्नै गाह्रो छ। कसलाई विश्वास गर्ने कसलाई नगर्ने छुट्याउनै मुस्किल पर्छ।

आज यहाँ भएको मान्छे भोलि कता हुने हो थाहा छैन। आज सद्धे भएको मान्छे भोलि कुन कुनामा हुन्छ कि हुँदैन पनि थाहा हुँदैन यो दुई दिने जीवनमा।

हामीलाई आफ्नै भोलि के थाहा छ र? त्यही पनि हामी घमन्ड र स्वार्थी हुन छोड्दैनौं। गाउँलेले सताएर आमा वाक्कदिक्क हुनुभएको थियो। त्यसैले भएको जग्गा बेचेर काठमाडौंमा आउनुभयो। आमालाई केही गर्नुपर्छ भन्ने साहास थियो। त्यही भएर तरकारी व्यवसाय सुरू गर्नुभएको थियो।

मामाको साथ र सहयोगले सानो जग्गा किन्नुभयो। हामी त्यहीँ भाडामा बस्न थाल्यौं। आमा दिनभरी बारीमा काम गर्नुहुन्थ्यो। म स्कुल सकेपछि आमालाई काममा सघाउँथे। आमा रातदिन नभनी काममा लाग्नुभयो।

मेहेनतको फल छिटोढिलो भए पनि मिठो हुन्छ भन्ने विश्वास उहाँमा थियो। मामाको सहयोगले गर्दा विभिन्न ठाउँका लागि तरकारी उत्पादन गर्न थाल्यौं। बाँकी भएको तरकारी नजिकैको चोकमा बसेर बेच्थ्यौं। आमाको छेउमा बसेर म पढिरहेको हुन्थे। तरकारी किन्न आउने मान्छेले मलाई दया देखाउँदै भन्थे, ‘बिचरा कस्तो दुःख गरेरे पढाउनु भएको रहेछ छोरीलाई। धेरै पढेर आमालाई सुख दिनु है छोरी।’

म पेन्सिल मुखमा राखी लजाउँदै मुस्कुराउँथें।

वर्तमानकै टुंगो नभएकी म बालखाले भविष्यको उत्तर दिन के सक्थ्ये र?

दिनहरू बित्दै गए। थोरैथोरै गर्दै आमाले बचत गर्नुहुन्थ्यो। सधैं सानो सुन्दर घर बनाउने सपना बोक्नुभएको थियो। दुई-चार वर्षसम्म त पसिना बगाउँदै बित्यो। त्यसपछि त हामीले पनि घर बनाउन थाल्यौं।

एउटा सुन्दर घर बनाई तँलाई सुखले राख्नुछ। तेरा अपुरा कुरा पूरा गरिदिने ठूलो सपना छ, भन्नुहुन्थ्यो। आमा भोलिको सपना साकार पार्न लागि पर्नुभएको थियो।

म सधैं आमाको हात समाएर पछिपछि दौडिन्थेँ। आमाले हामीजस्तै दुःख पाएका गरी चार-पाँचजना काम गर्ने सहयोगीलाई राख्नुभयो। यी दुई-तीन वर्षमा देखा नपरेका गाउँलेहरू आजभोलि खोज्दै आउन थालेका छन्।

दुःख पर्दा खुट्टा तान्ने र पहिले एकल आइमाइले गएर कता इज्जत फाल्ने हो भन्नेहरू आमासँग कसरी व्यवसायी गर्ने भन्दै सरसल्लाह माग्न आउँछन्। चाडबाडमा दुईचार सय पैसा सापटी माग्दा आमाको मुख हेरेर हाँस्नेहरू अहिले लाखौं पैसा सापटी माग्न आउँछन्।

‘सुखमा साथ दिन सबै आउँछन् तर सहारा चाहिँदा घोसे मुन्टो लाएर हिँड्छन्,’ आमाले भन्नुहुन्थ्यो।

यो समाज यस्तै छ के गर्नु। एक जनालाई मात्र दोष दिने ठाउँ नै छैन।

एक जोर चप्पल नलगाई वर्षौं कटाएकी मेरी आमाको खुट्टाहरू पटपटी फुटेका छन्। चप्पल किन्न सक्ने स्थिति थिएन। गाउँघरमा अलिकति जग्गा त थियो तर पैसा आउने बाटो थिएन। गरिबै थियौं। झन् बुबा बितेपछि पानी बिनाको माछा जस्तो भएका थियौं। सहाराविहीन भएका थियौं।

समय सन्दर्भ र परिस्थिति त परिवर्तन भइरहन्छ तर हामीले अरूलाई गर्ने व्यवहारमा परिवर्तन हुनु हुँदैन भन्ने हो। तर सबैको विचार कहाँ मिल्छ र? संसार यति सानो भइसक्यो तर समाजमा नकरात्मक सोचाइहरू भने जहाँको त्यहीँ छ। मानिसहरू पढेलेखका छन् तर बुद्धि भएका इमान्दार मानिसहरू प्रायः अनपढ छन्। जिन्दगीका चपेटाहरूले जिउन सिकाएको व्यक्तिहरू अनपढ नै देखिन्छन्।

हातमा सर्टिफिकेट बोकेर मात्रै के काम? मलाई त मेरी आमा जति शिक्षित कोही लाग्दैन, प्रौढ शिक्षामार्फत अक्षर चिनेकी मेरी आमा, मलाई औंला समाएर हिँड्न सिकाउने, क-ख चिनाउने मेरी गुरू, बिरामी हुँदाकी मेरी डाक्टर, मलाई पकाएर खुवाउने आमा मेरो भगवान हुनुहुन्छ। जिन्दगीमा आई परेका जस्तोसुकै परिस्थितिसँग पनि लड्न नडराउने मेरी आमाले एउटा हातमा छोरी र एक हातमा एक जोर लुगाफाटो बोकेर हिँड्नु भएको थियो। त्यसैले आज एक सफल, खुसी आमा हुनुहुन्छ। आमाबाट धेरै सिकेका कुराहरू कुनै पनि किताबका पन्नामा भेटिन्न।

समय उसैको आउँछ जसले आफ्नो कर्तव्यलाई भाग्य सम्झेर दिन रात मेहेनत गर्छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?