spot_img
spot_img

सरायको सम्झना

पृष्ठभूमि :
नेपालको सामाजिक लोक जीवनमा विभिन्न खालका पहिचानहरू स्थापित हुँदै आएका छन् । लोक सुहाउँदो संस्कार र संस्कृतिको सङ्गम भएका परिदृष्य हाम्रा सामु प्रसस्तै छन् । ऐतिहासिक तथा सांस्कृतिक जीवनका प्रत्येक कालखण्डहरूमा मानवलाई साथ दिने भनेकै सम्बन्धित् स्थानको लोक संस्कार, संस्कृति र स्थानीय परम्पराले हो । हाम्रा प्रथाजन्य संस्कारहरूमा आँञ्चलिकता भए तापनि क्रमश अन्य स्थानहरूमा समेत स्वीकार्य भई फैलिएर रहेको पाइन्छ । वडादशैलाई विजयादशमीका रुपमा पनि मानिदै आएको छ । पन्ध्र दिनसम्म मनाइने यस महानपर्वमा विभिन्न खालका पुजा, आराधना एवम् विजय प्राप्ति सम्बन्धी मेला वा प्रदर्शनी गर्ने क्रममा छ दिनसम्म स्थान विशेष अनुसार सरायको आयोजना गरिन्छ ।

सराय :
नेपाली लोकसंस्कृतिको विशिष्ट पहिचानमध्ये एक महत्त्वपूर्ण संस्कृतिक धरोहर सराय हो । “विशेष पर्वका दिन मन्दिरभित्रका खुकुरी, तलवार, खुँडा, खड्ग र लठ्ठी आदि हतियार हातमा लिएर नचाउँदै, लडाउँदै बाजाका तालमा नाच्दै देखाइने अर्घाखाँचीभेगका जिल्लाको एक प्रसिद्द जात्रा” हो भनेर नेपाली बृहत् शब्दकोशले उल्लेख गरेको छ । नृत्यकलाको विषय अन्तरगत सराय पनि एक महत्वपूर्ण नाँच हो भनिएको छ । यसको प्रचलन विशेष गरी अर्घाखाँचीबाट शुरु भई अधिकांश गुल्मी, पूर्वी प्यूठान र पश्चिम पाल्पा क्षेत्रमा बढी प्रचलनमा रहेको अवस्था छ । साथै यिनै स्थानबाट बसाइसराई गरी वा नगरी शहरी क्षेत्रमा रहेका संस्कृतिप्रेमी महानुभावहरूको विशेष सक्रियतामा रुपन्देही (बुटवल), कपिलवस्तु र काठमाडौजस्ता स्थानमा प्रत्येक वर्ष सराय लगाइदै आएको छ । यो एक पर्व विशेष नाँच हो । ऐतिहासिक युद्धको विजयपश्चात युद्धपोत सामग्रीको कलात्मक रुपमा प्रस्तुत गरिने नाँच नै सराय हो । बडादशंैका शुअवसरमा जमरा र टिका ग्रहण गरेपछि कोजाग्रत पूर्णिमासम्म विभिन्न शक्तिपीठहरू (कोटघर) का अग्रस्थलमा भेला भई हात हतियार तथा ढालहरू प्रदर्शन गरिन्छ । एक आपसमा बडो हर्षोल्लासका साथमा हात र हतियार ठोक्काउँदै गोलो घेरामा नौमती बाजाको तालमा नाचिन्छ । नेपाली सेनाले यसलाई अझ व्यवस्थित रुपमा प्रस्तुत गर्ने गरेको पनि पाइन्छ ।

Workplace

सदिऔं पहिलेदेखि सरायको शुरुवात अर्घाकोट र खाँचीकोटबाट भएको पाइन्छ । नेपाल र अग्रेजवीच युद्द हुँदा नेपालीको जित भएपश्चात त्यसबेलाका तरवार, खुडा, ढाललगायतका हातहतियारसहित नाँचगान गरेका थिए । त्यस विजय उत्सवमा लडाकुहरूले सर (जित) गरी आएँ भनेकाले सराय भएको बताइन्छ भने कतै बाइसी चौबिसी राज्यको एकीकरणका क्रममा साह्रो गाह्रो व्यहोर्दै जित्नेले खुशीयालीमा हतियारसँगै नाँचगान गर्दै अगाडि बढेको हुनाले सरायको रुपमा स्थापित हुदै आएको हो पनि भनिएको पाइन्छ । धेरै वर्ष पहिलेदेखि नै गुल्मीमा धुर्कोट, अर्जै, पुर्कोट र चोयगालगायतका स्थानको सराय चर्चित छन् । २०७१ सालमा गुल्मीका चौवन्न ठाउँमा सराय लागेको थियो । भनभनेको रोल्ममा वि.सं. १९७१ देखि नै लाग्दै आएको पाइन्छ । अर्घाखाँचीमा अर्घा, रागामारे, खाँचीकोट, चौडिला, अर्घातोषलगायतको सराय भव्य र निकै चर्चित छन् । पाल्पामा रैनादेवी छहराको कोट्बासपानी, तानसेनको लिपिन्देवी, रिब्दीकोटको भारकोट, ख्याहालगायतका स्थानमा लाग्दै आएको पाइन्छ । प्यूठान विजुवारमा लाग्ने सराय डल्ले सरायको नाममा ख्याती पाएको मानिन्छ । त्यसैगरी छिमेकी जिल्ला बाग्लुङ्ग र कपिलवस्तुका केही स्थानमा पनि सराय लाग्दै आएको अवस्था छ । यसले राष्ट्रियस्तरमा पनि महत्त्वपूर्ण स्थान लिदै आएको देखिन्छ । यो नाँच वा खेल बुटवलको देवीनगरमा २०६६ र जितगढीमा २०७० सालदेखि लाग्दै आएको छ ।

छिमले खेल्ने –
कोटघरमा रहेका सबै प्रकारका हातहतियारहरू निकालेपछि सराय शुरु हुनुभन्दा पहिले छिमले खेल्ने गरिन्छ । छिमले छोटो समयको हुन्छ र यसमा थोरै मान्छे भए पनि पुग्दछ । छिमलेमा दुई समुह भई आमने सामने भएर बाजाको तालमा हो… हो… हो… भन्दै हातहतियारलाई उचाल्दै तीन चार पटकसम्म ओहोरदोर वा वारपार गरिन्छ । यसमा एक प्रकारको युद्द कला प्रदर्शन गरिन्छ ।

तुरी खेल्ने –
अहिलेको दोहोरी खेलैझै हो तुरी खेल्ने । एउटा समूह एकापट्टी र अर्को समूह अर्कोपट्टी उभिएर रहन्छन् । तुरी खेल्दा सराय लाग्ने क्षेत्रमा यस वर्षभर भएका दुःखसुखका कुरा संक्षिप्त रुपमा गरिन्छ । एउटा समूहको एक जनाले ठूलो स्वरमा यो साल सराय त खेलिदैछ तर यस (कुनै स्थान नाम) ठाउँमा ठूलै विपत्ती (यस वर्षको कुनै उल्लेख्य घटना) प¥यो भनेपछि झ्याम झ्याम बाजा बज्दछन् । अर्को समूहको एक जनाले ठूलो स्वरमा त्यसैको जवाफ स्वरुप त्यो त हो राजै तर त्यो भन्दा नि अझ नराम्रो कुरा यस्तो (यस वर्षको अर्को कुनै उल्लेख्य घटना) पो भएछ भनेपछि झ्याम झ्याम बाजा बज्दछन् । यस्तै क्रम अन्य व्याख्यामा तीन चार पटक दोहोरिएपछि जे भए पनि यो सरायले हामी सबैलाई राम्रो गर्नेछ, सबैको भलो होस् भन्ने आशय दुबैतर्फबाट आएपछि एक अर्को समूह एकै समूह भई बाजाको तालसँगै तुरी खेल सकिन्छ र गोलो घेरामा नाच्ने सराय शुरु हुन्छ ।

पट्टा खेल्ने –
कतै सरायको विचमा त कतै अन्त्यतिर पट्टा खेल्ने गरिन्छ । गोलो घेरामा सराय नाचिरहदा वा खेलिरहदा लामो समय हुनाले दर्शकको ध्यानाकर्षण गर्न वा सराय नाच्नेलाई विश्राम दिन वा पट्टा खेल्नेको कौशल देखाउन विचैमा यसो गरिन्छ । यो खासमा एक जनाले खेल्ने हो । आजकल दुई जनाले पनि खेल्ने गरेको पाइन्छ । बाजाको तालमा एक जनाले एउटा वा दुइटा तरवार वा कुनै हतियार कलात्मक तरिकाले नचाउने गर्दछन् । यसो गर्दा आफ्ना दुई हतियार एक आपसमा ठोक्किनु हुँदैन । हातबाट फुस्किनु पनि हुदैन । यसो भयो भने कुलक्षण हुन्छ भन्ने मान्यता रहिआएको छ । महाभारतमा अर्जुन पुत्र अभिमन्यूले चक्रव्यूह तोड्नका लागि हतियार फन्नाउदै गरेको एकल साहसिक कार्यको दृष्टान्तका रुपमा पट्टा खेल्ने गरिएको हो पनि भनिन्छ । त्यसैगरी कतै सरायको अन्त्यमा पट्टा खेली फुलपाती सेलाएर सराय तथा बडादशैंको समापन गरिन्छ ।

गोलो घेरामा नाच्ने –
पश्चिमतिर प्रचलित देउडाजस्तो मानिए पनि धेरै फरक छ सराय । गोलो घेराको नाँच घण्टौसम्म चल्दछ । यसमा ढिलोगरी नाचिन्छ । द्वन्द्वकालभन्दा पहिले रातैभर पनि नाच्ने गरेको पाइन्थ्यो । गोलो घेरामा नाच्नका लागि दुई दुई जना जरुरी हुन्छ र नाच्ने ठाउँ अनुसार जति जना पनि नाच्न मिल्दछ । एक पटक दुई जना आमने सामने हुन्छन् भने अर्को पटक हुदैनन् अर्थात एक जना एउटासँग एक पटक अगाडि र एक पटक पछाडि हुनु पर्दछ । आमने सामने हुनेले आफ्ना हतिरयार र रुमाल वा खाली भएका दुबै हात अर्कोको दुबै हातसँग जोडाउँदै, केही झुक्दै, नजिकिएर भट्ट्याउने भए दुबैले एकै स्वरमा भट्ट्याएर हो…ओ वा वाख्यै… भन्दै दुबै हात माथी उठाउदै दायाबाट घुमेर केही सर्दै अर्को जनातर्फ फर्किनु पर्दछ । यो क्रम भइरहन्छ र गोलो घेराको सराय बन्दछ । यसमा नाच्ने वा खेल्ने सबैका हात गोडाका चालहरू बाजाको तालमै चलदछन् । नौमती बजाउनेहरू पनि मालश्री धुनका साथ गोलो घेरामै उसैगरी सर्दै जान्छन् ।

भट्ट्याउने –
यस सरायमा भट्ट्याउने पनि गरिन्छ । यसलाई कतै सराय गीत पनि भनिन्छ । यो एक महत्त्वपूर्ण तथा ऐतिहासिक लोक सिर्जना हो । यस नाँचमा सबैले भन्दा पनि केही पाका मान्छेले भट्ट्याउने गर्दछन् । यसले सरायमा रौनकता ल्याउँछ । ढिलो स्वरमा नौदुर्गा देवी हो…ओ…वाख्यै…, रक्षा गर हो…ओ…वाख्यै…, दशैको बेला हो…ओ…वाख्यै…, खेल भाई हो हो…ओ…वाख्यै…, बाँचे आइसल हो…ओ…वाख्यै… आदि भन्दै परिक्रमा गरिन्छ ।

अन्त्यमा :
ऐतिहासिक एवम् सामाजिक मूल्यमान्यतामा आधारित परम्परा, चालचलन, संस्कार र संस्कृतिलाई बुभ्mदै अर्को पुस्तालाई हस्तान्तरण गर्ने कार्यमा संलग्न हुनुपर्ने अवस्था आएको छ । यस बारेमा अझ गहिरो गरी विस्तृत रुपमा अध्ययन अनुसन्धान हुन बाँकी नै छ । यहाँ केवल सुत्रात्मक रुपमा केही पक्षहरू संक्षिप्त रुपमा मात्र उल्लेख गरिएको छ । सबैले सही तथ्य बुझाऔँ । सरायको संरक्षण र सम्बर्धन गरौँ । सकेसम्म सबैतिर फैलाउँदै जाऔँ । यसैमा सबैको सुन्दर, सुशिल र शानयुक्त पहिचानको अस्तित्त्व र भविष्य समेत अन्तरनिहित रहेको पाइन्छ । त्यसैले सरायको सही संरक्षण र सम्वद्र्धन गर्नु नै हामी सबैको पहिचानलाई स्थापित गर्नु हो ।

सन्दर्भ सामग्री :
घर्ती विष्णु ‘भनभनेली’ (२०६२ भाद्र), भनभनेको झलक, भनभने गाविस, गुल्मी ।
गुल्मी परिचय (२०६२), गुल्मेली समाज, काठमाडौं ।
लोकसंस्कृति स्मारिका (२०७३), राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मी ।
नेपाली बृहत् शब्दकोश (२०७५), नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
आचार्य राजेन्द्र कुमार (२०७९), नेपाली लोक नाटक, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
श्रीस जङ्ग बहादुर, वर्ष ६८, संस्थापक अध्यक्ष, जितगढी सराय व्यवस्थापन समिति, बुटवल, रुपन्देही ।

                                            लेखक : विष्णु घर्ती ‘भनभनेली’

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?