सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन अर्घा भगवति बिमानस्थमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।
प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले बताए।

अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।
