अर्घाखाँची । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमुना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको आयोजनामा पाणिनी गाउँपालिका वड नं. ८ पाली स्थित बाबुराम प्राबिमा मंगलबार नमुना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमुना मतपत्रमा मतदान गरिएको हो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि पनि नमुना मतदान गरिएको बताए ।
मत बदर नहोस भनि सिकाइको रुपमा नमुना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, मुख्य निर्वाचन अधिकृत तथा न्यायधिस श्रीकृष्ण भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, निर्वाचन अधिकृत सुरेस भन्डारी, पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल,जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधि, शिक्षक,कर्मचारी लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।
