काठमाण्डाै । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन् ।
उनले भने, ‘देशको अर्थतन्त्र सबल र चलायमान बनाउनका लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुँदैन । यथास्थितिमा देशको अर्थतन्त्र माथि जान सक्दैन । त्यसैले देशको अर्थतन्त्र माथि लानका लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ ।’

डा. वाग्लेले नेपाल पर्यटनको हिसाबले उच्च सम्भावना भएको देश भए पनि आत्यधिक कम मात्रै पर्यटक आउने गरेको बताए । उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताए । उनले नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाउने तथा घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताए। अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय देशको अर्थतन्त्र धान्न नसक्ने उनकाे दाबी छ ।
अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरू पग्लिरहेको बताए । उनले लोकल ब्ल्याक कार्बनले ग्लोबल ग्रीन हाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरू तातेर पग्लन थालेको बताए । अहिले भइरहेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि सबै देश मिलेर समाधान गर्नुपर्नेमा उनले जाेड दिए ।
डा. वाग्लेले नेपालको आर्थिक नीतिहरू भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताए । उनले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरूमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने दाबी गरे ।
