spot_img
spot_img

बोल्दै नबोल्ने सेलिब्रिटीको नाममा

जिब्रोले पहिचान गर्ने केही मूलभूत स्वादमध्ये तीतो पनि एक हो । तीतो स्वाद त्यति रुचिकर त लाग्दैन, तर यसमा औषधीय गुण सम्मिलित हुन्छ । औषधि तीतो हुन्छ । जडीबुटी तीतो हुन्छ ।

कुरा पनि ‘तीतो’ त्यति सहजै पच्दैन । तर तीतो कुराले नै सत्यको उद्घाटन गर्छ । कुरा सुरु गरौं, तीतो-सत्यबाटै ।

Workplace

थुप्रै नेपाली सेलिब्रिटी छन्, जो फेसबुक जस्ता सामाजिक सञ्जालमा हरदम सक्रिय रहन्छन् । उनीहरुलाई माया गर्ने, मन पराउने, समर्थन गर्ने असंख्य शुभेच्छुकले सामाजिक सञ्जालको ‘लाइक’, ‘फलो’ टुल्स क्लिक गरिदिएका छन् । त्यसैले उनीहरुको सामाजिक सञ्जालमा ‘फलोअर्स’ संख्या लाखौं देखिन्छन् ।

यसको सोझो अर्थ त यो हो कि यी सेलिब्रिटीलाई यति धेरैले सर्वसाधारणले विश्वास गरेका छन् । माया दर्शाएका छन् । यद्यपि हाम्रा सेलिब्रिटीहरुले सर्वसाधारणको यो स्नेह र विश्वासलाई पैसा कमाउने मेलो बनाएका छन् । उनीहरुले त्यही फलोअर्सको संख्या देखाएर विभिन्न कम्पनीको विज्ञापन हत्याउँछन् । र, व्यापारिक प्रयोजनका ती सामग्री आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छन् ।

यसबाट उनीहरुले निकै राम्रै आयआर्जन लिने गरेका छन् । सामान्यतः एउटा पोस्ट गरिदिए बापत उनीहरुले डेढ-दुई लाखसम्म लिने गरेका छन् ।
विडम्बना चाहिं के छ भने सामाजिक मुद्दाहरुमा हाम्रा सेलिब्रिटीको बोली बन्द हुन्छ । ‘मैले यस्तो भने भने यस्तो लेखे भने भोलि मेरो करियर सकिन्छ । मेरो व्यावसायिक जीवन धरापमा पर्छ’ भनेर उनीहरु बोल्न डराउँछन् ।

झट्ट हेर्दा त यो उनीहरुको निजी मामला जस्तो लाग्छ । तर सामाजिक चिनारी बनाइसकेका व्यक्तित्वका लागि यो त्यति शोभनीय खेतीपाती होइन । किनभने दर्शक, शुभेच्छुकले जसरी विश्वास र प्रेम गरेका हुन्छन्, त्यसैलाई भँजाएर ‘पैसा कमाउने’ धन्दामा लम्पट हुनु कति उचित होला ?

यससँगै अर्को पेचिलो प्रश्न गर्नुपर्ने हुन्छ । यी सेलिब्रिटीले सामाजिक उत्तरदायित्वको काममा पनि यसैगरी आफ्नो सामाजिक सञ्जालको उपयोग गर्छन् त ? जवाफ सकारात्मक छैन । लाखौं फलोअर्स देखाएर सामाजिक सञ्जालमा सशुल्क प्रचार सामग्री राख्ने सेलिब्रिटीहरु सर्वसाधारणलाई साह्रो-गाह्रो पर्दा चुइँक्क बोल्दैनन् । उनीहरु यतिबेला मौनव्रत बस्छन् ।

चाहे ती सर्वसाधारण कोरोना महाव्याधिले विचल्लीमा परेर पैदल हिंड्दै घर फर्किरहेको बेला होस् वा नाकाबन्दीले चिथोरेर के खाउँ-के लाउँको स्थितिमा पुगेको बेला होस् । यी सेलिब्रिटी बोल्दैनन् । अचाक्ली महँगीले निमुखाको ओठमुख सुकेको बेला होस् वा अस्पतालमा उपचार नपाएर नाङ्गो हात फैलाउँदै ज्यानको भिख माग्दा । यी सेलिब्रिटी बोल्दैनन् ।

खेती उब्जाउ गर्ने याममा मल नपाएर किसानहरुमा हाहाकार चल्दा होस् वा प्राकृतिक विपद्ले गरिबहरुको घरबार डुबाइदिंदा । यी सेलिब्रिटी बोल्दैनन् । राज्य व्यवस्थाको अकर्मण्यताले रैतीमाथि थिचोमिचो हुँदा होस् वा प्रशासनको लाचरीले न्याय गुमाउनु पर्दा । यी सेलिब्रिटी बोल्दैनन् ।

खासमा ‘सेलिब्रिटी’ छवि बनाइसकेका व्यक्तिसँग ‘मास र मिडिया’ दुवै हुन्छ । उनीहरुको बोली एकसाथ धेरै जनामा प्रक्षेपण हुन्छ । त्यो आवाज नहुनेहरुको आवाज बन्छ । र, त्यसले एक हदसम्म कम्पन पैदा गर्छ ।

यस्तो कम्पन, जसले राज्यको बेथितिमाथि थप्पड लगाउन सक्छ । सर्वसाधारणको पीरमर्कामा मल्हम लगाउन सक्छ । समाजमा व्यप्त कतिपय भ्रमहरु चिर्न सक्छ । परिवर्तनका लहरहरुलाई डोहोर्‍याउन सक्छन् । केही गरौं भन्नेहरुलाई होस्टेमा हैंसे गर्न सक्छन् ।

सेलिब्रिटीसँग यस्तो शक्ति हुन्छ । यद्यपि यो शक्तिलाई उनीहरुले आफ्नो हितमा मात्र प्रयोग गर्ने वा समाज र सर्वसाधारणका लागि पनि ?

सेलिब्रिटी कुनै अलौकिक प्राणी होइन, जो अर्कै दुनियाँबाट यस धरातलमा अवतरण गरेका होस् । उनीहरुको धरातल यही हो । यही समाज हो । यही सर्वसाधारण हुन् । यसर्थ आफ्नो सार्वजनिक व्यक्तित्व बनाइसकेपछि उनीहरुले आफ्नो धरातल छाड्नु हुँदैन । त्यही समाज र सर्वसाधारणसँगै घुलमिल भएर बाँच्नुपर्छ । यसले नै उनीहरुलाई सार्थक सेलिब्रिटी बनाउँछ ।

सेलिब्रिटीले समाजको ढुकढुकी सुन्नुपर्छ । समाज के चाहन्छ ? के कुराले समाजलाई अन्धकारबाट उन्मुक्ति दिएको छैन ? समाजले कसो गर्दा रचनात्मक छलाङ मार्छ ? समाज कसरी सुन्दर बन्छ ? सेलिब्रिटीले यस्ता विषयमा पनि घोत्लिनुपर्छ । अनि समाज रुपान्तरणका लागि आ-आफ्नो ठाउँबाट बोल्नुपर्छ ।

विडम्बना चाहिं के छ भने सामाजिक मुद्दाहरुमा हाम्रा सेलिब्रिटीको बोली बन्द हुन्छ । ‘मैले यस्तो भने भने यस्तो लेखे भने भोलि मेरो करियर सकिन्छ । मेरो व्यावसायिक जीवन धरापमा पर्छ’ भनेर उनीहरु बोल्न डराउँछन् ।

हाम्रो पुस्ताले कति धेरै सामाजिक, राजनीतिक उथलपुथल भोग्यौं । तर यत्तिका उथलपुथलपछि पनि हाम्रो जीवन जहाँको त्यहीं छ । किन यस्तो भयो ?

जवाफ सरल छ । किनभने हामी यी चरणहरुमा कतै लुक्यौं । चुपचाप बस्यौं । गुमनाम भयौं । हामीलाई लागेन, यसबेला मेरो उपस्थिति जरुरी छ । यसबेला मैले बोल्नुपर्छ । यसबेला मैले सक्रियता देखाउनुपर्छ ।

आफ्नो करियर पो बर्बाद होला कि भनेर हामी कतै कुनामा थन्को लाग्यौं । त्यसैले आजसम्म मुलुकले सही निकास पाउन सकेन । दुःखहरु उस्तै रहे । अभावहरु उस्तै रहे । कुरीति र बेथिति उस्तै रहे । भ्रष्टाचार र व्यभिचार उस्तै रहे । फेरिए त केवल सरकार । फेरिए त केवल हुनेखाने ।

सर्वसाधारण, सोझासाझ, श्रम गरी खानेहरुको दशा कहिल्यै फेरिएन ।

यतिबेला पनि मुलुक एउटा राजनीतिक मोडमा उभिएको छ । राज्य परिवर्तनका लागि यो एउटा टर्निङ प्वाइन्ट हो । यतिबेला एउटा लहर चलेको छ, शासन व्यवस्थाको सिन्डिकेट तोड्ने । अब बेला भएको छ, सत्ताको पुरानै धङ्धङीले लठ्ठ भएर, शक्तिको उन्मादले उम्लिएर हिंड्नेहरुलाई धावा बोल्ने ।

यतिबेला थुप्रै युवा बेग्लै उत्साह, ऊर्जा, दृष्टिकोण र कार्ययोजनासहित चुनावी मैदानमा छन् । यो युवा लहरमा हामी सेलिब्रिटीले नवीन संवाहक बनेर अगाडि आउनुपर्ने हो ।

किनभने यतिबेला हामीले पूर्ववत् लाचारी देखायौं भने मुलुक यथास्थितिमा रहने पक्का छ । त्यही दल, त्यही अनुहार, त्यही विचार, त्यही कार्यशैली, त्यही सुस्तता, त्यही, लाचारी । अनि हामी सुस्केरा हाल्दै भन्नेछौं, ‘यो देशमा केही भएन ।’

यो देशमा केही हुन हामी पनि जिम्मेवार छौं । हामी हरेक सेलिब्रिटी वास्तवमा जनप्रतिनिधि हौं । हामीले पनि सर्वसाधारणलाई सही बाटो पहिल्याउनका लागि प्रतिनिधित्व गर्न सक्छौं । तर हाम्रो चेत अझै उस्तै छ । कोही सेलिब्रिटी पार्टीको फेरो समातेर दौडिएका छन्, कोही नेताको झोला बोकेर पछि लागेका छन्, कोही केही थाहा नपाए झैं चुपचाप बसेका छन् ।

हामीलाई चाहिएको के हो ? हामीले खोजेको राज्य व्यवस्था कस्तो हो ? त्यस अनुरुप पो हामीले अग्रसरता देखाउनुपर्ने होइन र ? सामाजिक सञ्जालबाट हुन्छ वा मैदानमा उत्रिएर, हामीले नव-लहरलाई होस्टेमा हैसें गर्नुपर्ने होइन र ?

किन हामी चुपचाप छौं ?

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?