spot_img
spot_img

के तपाईँलाई थाहा छ, समानुपातिक प्रणालीबाट कसरी छानिन्छन् सांसद ?

नेपालमा प्रत्यक्ष तथा समानुपातिक गरी दुवै प्रकारको अर्थात् मिश्रित प्रणाली अभ्यासमा छ। सामान्यतः पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेदवारहरू विजयी हुने प्रणाली समानुपातिक प्रणाली हो।

काठमाडौँ । प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने उम्मेदवार निर्वाचित हुने प्रणालीतर्फको सम्पूर्ण परिणाम आइनसक्दै समानुपातिकतर्फको निर्वाचनमा निर्वाचित हुने उम्मेदवारको चर्चा शुरू भएको छ।

नेपालमा प्रत्यक्ष तथा समानुपातिक गरी दुवै प्रकारको अर्थात् मिश्रित प्रणाली अभ्यासमा छ। सामान्यतः पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेदवारहरू विजयी हुने प्रणाली समानुपातिक प्रणाली हो।

Workplace

संघीय संसद् र प्रदेश संसद् दुवैमा यही मिश्रित प्रणाली लागू गरिएको छ। समानुपातिक निर्वाचन प्रणाली विश्वका धेरै देशमा अभ्यासमा रहेको सेन्ट लग विधिमा आधारित छ। यस विधिअनुसार पार्टीले पाएको मतबाट निर्वाचित उम्मेदवारको संख्या निकालिन्छ। यसरी प्राप्त संख्यालाई समानुपातिक समूहको प्रतिशतको आधारमा दलले सूचीकृत गरेका उम्मेदवार प्राथमिकताअनुसार निर्वाचित हुन्छन्।

समानुपातिक निर्वाचनमा निर्वाचित हुनयोग्य दल छनोट प्रक्रिया
समानुपातिकतर्फको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका उम्मेदवारले प्रभाव पार्ने गर्छन्। त्यसैले समानुपातिकतर्फको निर्वाचनका लागि सबैभन्दा पहिला पहिलो हुने निर्वाचित हुने प्रणालीको नतिजा विधिवतरूपमा आउनुपर्छ। अन्तिम नतिजा आएपछि त्यसपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ। यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेसहोल्ड बनाइन्छ।

अहिले प्रतिनिधिसभाको निर्वाचनमा ४७ वटा दलहरूले भाग लिएका छन्। ३ प्रतिशतको अंकलाई थ्रेसहोल्ड अंक निकालेपछि प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएका ४७ वटा दलहरूले समानुपातिकतर्फको निर्वाचनमा पाएको मत र थ्रेसहोल्डको अंकसँग तुलना गरिन्छ। यस्तो तुलनामा थ्रेसहोल्डको सीमा पार गरेका दलहरू र सीमा काट्न नसकेका दलहरूका रूपमा विभाजन गरिन्छ।

थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरू समानुपातिकतर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन्।

बाहिरिएका दलसँगै ती दलहरूले प्राप्त गरेको मतसमेत समानुपातिक निर्वाचनमा प्राप्त कूल सदर मतबाट घटाइन्छ। यसरी घटेर प्राप्त भएको मत यसपछि समानुपातिकतर्फको निर्वाचनमा विजयी संख्या पाउन योग्य हुन्छन्। यसरी योग्य दल र मतको छनोट हुन्छ।

समानुपातिकतर्फको निर्वाचनमा निर्वाचित सिट निकाल्ने प्रक्रिया
संघीय संसद्को प्रतिनिधिसभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ११० सिट निर्धारण गरिएको छ। थ्रेसहोल्ड पार गरेका दलले पाएको समानुपातिकको मतअनुसार निर्वाचित सिट निकालिन्छ। यसपछि समानुपातिकतर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ। यसको लागि दलले प्राप्त गरेको मतलाई १ देखि शुरू भएर बढ्दै जाने ११० वटा बिजोर संख्या (बिजोर भाजक) ले भाग गरिन्छ। यी सबै बिजोर भाजकले समानुपातिकतर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेसहोल्ड कटेका) दलले पाएको मतलाई भाज्य मान्छ। १ टेबलमा सबै दलको भाज्य अंकलाई भाग गर्दै जाँदा विभिन्न भागफल निस्कँदै जान्छ। यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो। यो भनेको १ देखि ११० वटा सिट बाँडफाँट नभएसम्म प्रक्रिया दाेहोर्‍याउँदा बिजोर भाजक २१९ सम्म हुन्छ।

दलले प्राप्त गरेको सबै मत परिणामलाई २१९ सम्मले भाग गर्दा फरकफरक भागफल आउँछ। प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलहरू मध्ये जुन दलको भागफल बढी हुन्छ त्यो निर्वाचित सिट हुन्छ। यो भनेको पहिलो ठूलो भागफल दोस्रो ठूलो भागफल गर्दै क्रमशः ११० वटा ठूलो भागफल निस्कँदै जान्छ, ती सबै निर्वाचित सिट हुन्। यसरी निस्कने भागफल सबै महलमा एकै दलको नहुन सक्छ। ज-जसको भागफल हो, त्योअनुसार दलले जितेको सिट मान्दै जोडिन्छ। यसरी दलको कुल विजयी सिट निस्कन्छ। यो क्रम ११० वटा सिट निर्वाचित नहुन्जेल जारी रहन्छ। स्वभावतः दलले प्राप्त गरेको मतपरिणामअनुसार सिट निर्वाचित हुन्छन्। यो भनेको धेरै ‘मत-धेरै सिट’, ‘थोरै मत-थोरै सिट’ पनि हो । यसरी दलले समानुपातिक निर्वाचनमा विजयी सिट प्राप्त गर्दछन्।

विजयी सिटमा क्लस्टर विभाजन प्रक्रिया
समानुपातिक निर्वाचनमा विजयी सिट निस्केपछि दलले क्लस्टरभित्र प्राथमिकता क्रमका रहेका उम्मेदवार निर्वाचित सिफारिस गर्दछन्। यसरी सिफारिस गर्दा त्यो दलको राष्ट्रियसभामा रहेका र प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचित गर्ने निर्धारण हुन्छ। तर, संविधानमा भएको व्यवस्थाअनुसार दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र खस आर्य ३१.२ प्रतिशत निर्वाचित भएको हुनुपर्छ। यी सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ। यसका साथै समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तीमा ११ जनाको सूची बुझाएको हुनुपर्छ। यसरी सबै दलले क्लस्टर मिलाएर ११० जनाको सूची निर्वाचन आयोगमा पेश गरेका हुन्छन्।

अब कुनै दलले ११ जनाको समानुपातिकतर्फ विजयी सिट पायो भने क्लस्टरअनुसार कसरी निर्वाचित गराउँछ त? ११ जनामा सबैको प्रतिशतअनुसार विभाजन गर्दा आदिवासी जनजाति ३ जना, खसआर्य ३ जना, थारू १ जना, दलित २ जना, मधेसी २ जना गरी ११ जना निर्वाचित हुन्छन्। यहाँ ११ जनामध्ये ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ। तर क्लस्टरमा निर्वाचित हुनेको संख्या नघटाई त्यो दलको प्रत्यक्षतर्फ निर्वाचित र राष्ट्रियसभामा रहेका सांसदको संख्या र प्रतिनिधित्व हुने क्लस्टरले समानुपातिकमा निर्वाचित हुने समूहमा असर गरेको हुन्छ। समानुपातिक निर्वाचनको सिट बाँडफाँट गरेपछि दलले प्रत्यक्षमा कति सिट पायो, कति सिट जित्यो, राष्ट्रियसभामा कति जना सांसद छन्? तीमध्ये कति महिला छन् भन्ने हिसाब गरेर संविधानको व्यवस्थाअनुसार संघीय संसद्ंमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। यसको लागि निर्वाचन आयोगले सबै शर्त राखेर क्लस्टरअनुसार निर्वाचित भएको प्राथमिकताक्रम उपलब्ध गराउन पत्राचार गर्दछ। पत्राचारपछि प्राप्त प्राथमिकताक्रम प्रतिनिधित्वको प्रतिशत हेरेर निर्वाचन आयोगले विभिन्न दलबाट समानुपातिक प्रणालीमा निर्वाचित व्यक्तिको सूची प्रकाशित गर्दछ। यसरी संघीय संसद्को प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा दलले पाएको मतबाट उम्मेदवार व्यक्ति निर्वाचित हुन्छन्।

समानुपातिकतर्फको निर्वाचन प्रक्रिया: संघीय संसद् र प्रदेशसभा
मुलभूतरूपमा संघीय संसद् र प्रदेशसभामा लागू भएको निर्वाचन प्रणाली उस्तै हो। संघीय संसद् द्विसदनात्मक हुने भएकोले माथिल्लो सदन (राष्ट्रियसभा) को निर्वाचन प्रक्रिया अलग छ तर प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने तथा समानुपातिकतर्फ निर्वाचित हुने प्रक्रिया एउटै हो।

यद्यपि समानुपातिकतर्फको थ्रेसहोल्ड (प्रदेश सभाको समानुपातिक निर्वाचनको थ्रेसहोल्ड (१.५ प्रतिशत) र केही क्लस्टर र त्यसको प्रतिशत फरक छ। तुलनात्मकरूपमा हेर्दा प्रतिनिधिसभाभन्दा प्रदेशसभा अझ बढी समावेशी देखिन्छ। साथै समावेशी क्लस्टरको प्रतिशत प्रदेशअनुसार फरकफरक छ।

उदाहरणको लागि प्रदेश १ मा समानुपातिक निर्वाचनमा मधेसी समूहबाट निर्वाचित हुने प्रतिशत ७.५ प्रतिशत छ भने मधेश प्रदेशमा ५४.३६ प्रतिशत छ। यस्तै बागमती प्रदेशमा मुस्लिम ०.६७ प्रतिशत निर्वाचित हुने व्यवस्था छ तर मधेश प्रदेशमा ११.५८ प्रतिशत छ। यो भनेको समानुपातिक समूहमा रहेको जनसंख्याको उपस्थिति फरक भएकाले प्रदेशअनुसार निर्वाचित संख्या घटी, बढी भएको हो।

प्रदेशसभामा निर्वाचित हुने समानुपातिक समूहमा अल्पसंख्यक समूह पनि छ, यो समूह प्रतिनिधिसभामा छैन।

(निर्वाचन आयोग समानुपातिक इकाईलाई सहयोग गरिरहेका केन्द्रीय तथ्यांक विभागका उपसचिव कारञ्जितसँगको कुराकानीमा आधारित।) – उकालाेबाट

देवेन्द्रलाल कारञ्जित

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?