काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।
पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।

दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो ।
मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले पीडितले आयोगमा आएर पटकपटक करणी गरेर गर्भपतन गर्न लगाएको पनि खुलाएकी छन्।
महिला आयोगका अनुसार, पीडित महिला ०७५ देखि नै न्यायाधीशसंग थिइन् ।
आयोग स्रोत भन्छ, ‘हामीले न्यायाधीशलाई पनि सम्पर्क गरेर यस विषयमा बुझेका थियौं ।’ महिला आयोगका एक पदाधिकारीका अनुसार, पीडितलाई मनोवैज्ञानिक परामर्श दिने काम समेत भइरहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले समेत सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘मानव अधिकार आयोगबाट प्राप्त पत्रलाई प्रक्रियामा लगेका छौं ।’
स्रोतका अनुसार, प्रहरीले न्यायपरिषदसँगको समन्वयमा छानबिन अघि बढाएको छ । पक्राउ गर्नैपर्ने भए न्यायपरिषदको अनुमति पाएपछि मात्रै प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।
उजुरी परेपछि न्यायपरिषदले समेत छानबिनका लागि एकजना सदस्यलाई जिम्मेवारी दिइसकेको स्रोतले बतायो । स्रोतका अनुसार, ती सदस्यले मंगलबारदेखि नै सोधपुछ लगायतका काम थालेका छन् ।
न्यायपरिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले भने उजुरीका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।
आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट १५ दिन विदा लिएका छन् ।
उच्च अदालत तथा जिल्ला अरु न्यायाधीशहरुले उजुरी परेपछि गिरीले विदा लिएको बताए । एक न्यायाधीशले भने, ‘हामीले पनि उहाँमाथि छानबिन प्रक्रिया अघि बढेको सुन्यौं, १५ दिन विदा लिएर बस्नुभएको हो ।’
