spot_img
spot_img

रोचक बन्ने लुम्बिनी प्रदेश सभा : दाजु–भाइ, नन्द–भाउजू र सम्धी–सम्धिनी बने सांसद

बुटवल । नेपालका राजनीतिक दलका नेताहरूले श्रीमती, आफन्त र नातागोतालाई समानुपातिक कोटाबाट सांसद बनाउने गरेका घटना नयाँ होइनन्। यसपटक लुम्बिनी प्रदेश सभामा पनि यस्तै रोचक दृश्यहरू देखा पर्ने भएको छ ।

एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजुभाइ, प्रत्यक्ष र समानुपातिकबाट सम्धी (सम्धिनी र फरक फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द–भाउजुको  प्रदेश सभामा पारिवारिक भेटघाटको छनक दिने छ ।

Workplace

प्रदेश सभा सदस्यमा नेकपा (एमाले) बाट प्रत्यक्षमा निर्वाचित भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ एकै घरका दुई दाजुभाइ हुन्। पूर्वी पाल्पाको रामपुर नगरपालिकाका भोजप्रसाद र राजुप्रसाद एमालेमा रही राजनिति गरेका थिए।

भोजप्रसाद बुटवलमा जनीतिमा सक्रिय बनिरहँदा राजुप्रसादले भने पाल्पाबाटै  राजनीति गर्दै आएका थिए। श्रेष्ठ दाजुभाइ एकै पटक लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुने भएका हुन्।

दाजु भोजप्रसाद रुपन्देही क्षेत्र नम्बर २ (२) बाट निर्वाचित हुँदा भाइ राजुप्रसाद पाल्पा क्षेत्र १ (१) निर्वाचित हुन सफल भए ।

बुटवल नगरपालिकाको पूर्व मेयरमा निर्वाचित भएका भोजप्रसाद यसअघि २०७४ सालमा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए। भाइ राजुप्रसादको भने यो पहिलो संसदीय यात्रा हो।

यस्तै एमालेबाटै प्रत्यक्ष निर्वाचित भूमिश्वर ढकाल र समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी बसन्ती न्यौपाने सम्धी–सम्धिनी नै हुन्। ढकालकी छोरी र न्यौपानेका छोरा अघिल्लो वर्ष वैवाहिक सम्बन्धमा बाँधिएका थिए। उनीहरू पनि अहिले सँगसँगै प्रदेश सभा सदस्य बन्ने छन् ।

ढकाल रूपन्देहीको क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्षमा निर्वाचित हुँदा न्यौपानेलाई भने एमालेले बाँकेबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनाएको हो। यसअघि २०७४ सालमा पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका ढकालले एमालेबाट प्रदेश सभामा प्रमुख सचेतक  थिए ।

न्यौपानेको भने संसदीय यात्रा पहिलो हो। बाँकेमा रही अखिल नेपाल महिला संघ हुँदै एमालेको राजनीतिलाई अगाडि बढाएकी  थिइन् न्यौपानेले । यसपटक भने ढकालले गरेको लबिङ र जोडबलका कारण न्यौपानेलाई समानुपातिकबाट सांसद बन्न सहज बनेको एमाले नेताहरु बताँछन् ।

नेताहरूका परिवार, आफन्त र नातागोताले मात्रै अवसर पाउँदा आफ्ना कोही नभई राजनीति मात्र गरेकाहरू सधैँ अवसरबाट बञ्चित हुने गरेको एमाले नेताहरुले स्वीकारछन् ।

लुम्बिनी प्रदेश सभामा समानुपातिक कोटाबाट सांसद बनेका भगवती घिमिरे र जानकी न्यौपाने नातामा नन्द भाउजू हुन्। न्यौपाने नन्द हुन् भने घिमिरे भाउजू हुन्।  लामो समय एउटै संगठन र पार्टीमा काम गरी अनेमसंघको जिल्ला र केन्द्रीय नेतृत्वमा समेत पुगेका न्यौपाने र घिमिरे प्रदेश सभा सदस्यमा भने दुई फरक राजनीतिक दलबाट सिफारिस भएका हुन्।

न्यौपानेलाई एमालेले प्रदेश सभा सदस्य सिफारिस गर्दा घिमिरेलाई नेकपा (एकीकृत समाजवादी) ले प्रदेश सभा सदस्य बनाएको हो। घिमिरेले एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेकी थिइन्।

एकीकृत समाजवादी पार्टीमा केन्द्रीय सदस्य रहेकी घिमिरे प्रदेश सभामा सो पार्टीकी एकमात्र सांसद हुन्। एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ सत्ता गठबन्धनबाट एउटा पनि सिट पाएको थिएन। समानुपातिकबाट पाएको एकमात्र सिटमा घिमिरेलाई सिफारिस गरेको हो।

यस्तै एमालेबाट सिफारिसमा परेकी न्यौपाने निवर्तमान प्रदेश सभा सदस्य  कृष्ण न्यौपानेकी पत्नी हुन्। अनेमसंघकी केन्द्रीय सदस्य रहेकी जानकीलाई समानुपातिकमा सुरक्षित गरेर कृष्णले अहिले पनि प्रत्यक्षमा निर्वाचन लड्न पहल गरेका थिए। तर राप्रपासँगको तालमेलमा रूपन्देही क्षेत्र नम्बर १ ९१० राप्रपाका आशिष चौधरीलाई छोड्दा पछि श्रीमतीको समानुपातिक सिट सुनिश्चित गरिदिएका थिए।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ जना सांसद रहेको लुम्बिनी प्रदेश सभा यसपटक भने दाजु–भाइ, नन्द–भाउजु र सम्धी–सम्धिनीको जम्काभेटले प्रदेश सभा नै रोचक बन्ने भएको छ । १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसद छन्। @lumbinihub

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?