अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा लाग्ने हाटबजार कोरोना संक्रमणका बेला बन्द भयो । दुई वर्षपछि थप व्यवस्थापन सहित हाटबजार सञ्चालनमा आएको छ।
बसपार्क नजिक लाग्ने साप्ताहिक बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी लगायत सामग्री पाइन्छ। ताजा र सस्तो पाइने भएपछि त्यहाँ निकै भिड लाग्ने गथ्र्यो । तर, कोरोना महामारी फैलिएपछि संक्रमणका डरले बजार दुई वर्षदेखी बन्द थियो। कोरोनाले झन्डै दुई वर्ष बन्द रहेको हाटबजार बल्ल खुलाइएको छ।

हरेक हप्ताको शुक्रबार संचालन हुँदै आएको हाटबजारमा सन्धिखर्क नगरपालिकाको जगत, बाँगी, घोंचेखोला, डिभर्ना भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाका केही ठाउँका कृषकले उत्पादन गरेका कृषि सामग्री हाटबजारमा बिक्रीका लागि ल्याउने गर्छन्।
कोरोना सुरु हुनुअघि ठूलो परिमाणमा कृषि उपज बिक्री गर्ने किसानले कोभिडपछि सुरु भएको बजारमा समेत सोही परिमाणमा सामग्री बेचीरहेका छन्। ‘पहिले व्यापार राम्रै थियो, अहिले कोरोनापछि यहाँ किन्न आउने मानिसमा उत्तिकै उत्साह छ’, हाटबजारमा तरकारी बिक्री गर्दै गरेकी कृषक गोमा न्यौपानेले भनिन्,‘बजार नचल्दा घर चलाउन मुस्किल थियो, बजार लाग्ने भएपछी राहत भएको छ।’ हाटबजार नचल्दा सानो परिमाणमा उत्पादन गर्ने कृषकलाई गाह्रो भएको थियो। धेरै उत्पादन गर्ने कृषकले अन्यत्र बजार पाएपनी थोरै उत्पादन गरेर निर्वाह गर्ने कृषकलाई धौ–धौ थियो।
हाटबजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी, मासुजन्य सामग्री, खाजा लगायतका स्टलहरु रहेको अर्घाखाँची–सन्धिखर्क कृषि उत्पादन तथा बजारीकरण समूहका सचिव सहयोगी बिसीले बताए। ‘किसानलाई हाटबजार आएका बेला तरकारीसँगै अन्य घरायसी सामग्री आवश्यक परेमा खरिद गर्न सहज हुने गरी स्टल राखेका छौं,’ उनले भने,‘स्थानीय कृषकले हाटबजारमा स्टल राखे बापत कुनै शुल्क तिर्नु पर्दैन।’
