काठमाडौँ । प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले केही सांसदहरूको हस्ताक्षर शुक्रबार नै संकलन गरिएको र बाँकीको शनिबार गर्ने क्रम जारी रहेको बताए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका छन् । शनिबार दिउँसो साढे १२ बजे सबै सांसदहरूलाई बालुवाटारमा बोलाइएको हो ।

कांग्रेस सांसद राजेन्द्र केसीले पनि सरकारमा दाबी गर्नका लागि हस्ताक्षर संकलन भइरहेको जानकारी दिए । उनले गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर संकलन भइरहेको बताए । उनले आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको जानकारी दिए । सो व्यवस्थाअनुसार सरकार गठन हुन नसके संसद्को ठूलो दलको नेताको हैसियतमा पनि प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्न सांसदका हस्ताक्षर प्रयोग गरिने केसीले बताए ।
