काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अलग्गै छलफल भएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धनमा छलफल गर्नु अघि कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबीच छुट्टै छलफल भएको बताए । दुई शीर्ष नेताहरुको छलफललगत्तै सत्ता गठबन्धनको बैठक बस्ने छ । सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमै बसेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।
